माया मन मुटुमा हुन्छ स्वाभिमान शिरमा हुन्छ।
ए मूर्ख मान्छेको पवित्रता कहाँ तस्वीरमा हुन्छ।
दुनियाँ बदल्न नसक्ला त्यो फरक कुरा होला,
आफ्नो जीवनदृष्टी भने जरुर फकिरमा हुन्छ।
सबैतिरबाट निरास भएर नै मान्छे मन्दिर पस्छ,
उसलाई लाग्छ होला समाधान मन्दिरमा हुन्छ।
तिम्रालागी पहाडहरू अप्ठेरा हुनेछन् पक्कै हो
मलाई डर छैन माहुरीको बस्ती नै भीरमा हुन्छ।
यसैलाई त भाग्य भन्दा हुन मान्छेहरूले सायद
खान ढिँडो पाउदैन तर नजर भने खीरमा हुन्छ।
दु:खलाई संघर्ष भनेर परिभाषित गरिरहन्छ ऊ,
सच्चा क्रान्तिकारीको जीवन नै जन्जिरमा हुन्छ।
Comments (0)
No comments yet. Be the first to comment!