जसरी नुन तिहुन बढेर सयबाट हजारमा गयो।
उसको पनि भाउ बढ्यो जब सरकारमा गयो।
हिजो सङ्गै हिडेको साथीले साथी पनि मान्दैन,
चिन्न छोडेछ अचेल राजनीतिको बजारमा गयो।
समाज बदल्छुँ भनेर हिँडेको मान्छे बदलियो,
आफ्नो त जिन्दगी यस्तै भनेर बेकारमा गयो।
सँघर्ष गर्नेहरू सँघर्ष गर्दै बाँचिरहे जिन्दगीभर
हाम्रो जीवन अभाव संघर्ष र हाहाकारमा गयो।
चप्पल पट्काउदै चिउरा खाँदै हिडेको बिर्सेछ
जब साथीले चुनाब जितेर सिंहदरवारमा गयो।
बिरामीले एम्बुलेन्स नपाएर ट्याक्टरमै मर्यो,
उम्मेदवारी दिन जहाजमा गयो कारमा गयो।
लुट्न सक्नले लुट्यो आनन्द मझधारमा गयो
नसक्ने बिचरा लखेटियो छेउ किनारमा गयो।
तिम्रालागी जनता मर्दा कुखुरा जत्तिको भयो,
मान्छे मरेको समाचार आयो अखवारमा गयो।
२०७८/०१/२९ महेन्द्रनगर
Comments (0)
No comments yet. Be the first to comment!