 
                                फेरि त्यो दिन आउने छ
सबैतिर चहल पहल हुनेछ
घन्किने छन् जिन्दावाद मुर्दावादका नाराहरू  
कराउने छन् गाउँमा माइकहरू 
बाडिने छन् सपनाहरू अनेकथरी
उब्जिने छन् मनमा पुन: रहरहरू
डायरीहरू पल्टाइने छन् सिद्धान्तका रात रात भर
नम्बरहरू खोजिने छन् हराएका
आउने छन् समाजवादको घुम्टो ओडेर 
पैसाका बिटाहरू बाडिने छन् गाउँ घर तिर
वर्गीय नारा बोकेर आउने छन् आफन्तहरू नै
पुराना पुराना नम्बरहरू बाट 
नयाँ नयाँ फोन आउने छन् 
हो म त्यहीँ दिनको पर्खाइमा छु
फेरि त्यो दिन आउने छ।
फेरि त्यो दिन आउने छ
आदर्शहरू जिवित तुल्याइने छन् 
इमानदारीता पुजिने आश्वासन बाडिने छन् 
झुकेकाहरू उठ्ने छन् 
उठेकाहरू झुक्ने छन् 
नयाँ जोस जागर पलाउने छ
महिलाहरू खोजिन थालिने छन् 
पिछडिएकाहरू तानिने छन् 
दबिएकाहरू उठाइने छन् 
मिठा मिठा सपना देखाइने छन् 
चाहे एकछिनको लागि किन नहोस् 
सपना एकछिन कै त हुन्छ
सबै पुराना कुरा बिर्सिइने छन् 
नयाँ सम्झौताहरू गरिने छन् 
केबल पर्खाइ जिबित रहोस् 
फेरि त्यो दिन आउने छ।
फेरि त्यो दिन आउने छ
घोषणा पत्रहरू छापिने छन् 
तिम्रा हाम्रा सबैका चाहनाहरू लेखिने छन् 
बाडिने छन् सबैतिर पुग्ने गरि 
चामल नपुग्ने ठाउँमा
नुन नपुग्ने ठाउँमा 
बोलिने छन् सिमान्तीय आवाजहरू
पुराना सम्बन्धहरू धोइने छन् 
पखालिने छन् 
टुटेका जोडिने छन् 
भत्केका पुनर्निर्माण हुने छन् 
सहरियाहरू गाउँ फर्किने छन् 
चहलपहल बढ्ने छ
म पनि पिढिमा बसेर हेर्न पाउने छु
फेरि त्यो दिन आउने छ।
ढुक्क हुनुस यी सबै भन्ने कुरा हुन्
Comment