अध्यारो बस्ती

अँध्यारो बस्तीमा
उज्यालो खोज्दा कहाँ भेटिएला
अध्यारो बस्ती सधै अँध्यारो हुन्छ
अँध्यारो मात्र होइन
कालो हुन्छ,कालो
निख्खर कालो
चुक घोप्ट्याए जस्तो कालो ।

अध्यारो बस्तीका मानिस
भयौना जस्ता
डर लाग्दा कुरुप ।

कालो भएकाले अँध्यारो हो
अँध्यारो भएकाले कालो हो
यो गाउँ हो भने
कालो गाउँ हो
शहर हो भने पनि
कालो शहर
देश नै हो भने पनि
कालो देश हो ।

अँध्यारो चेतनामा
कालो मैलो
धुवाँधुलो तन मैलो
मन मैलो
मन कालो ।

यो बस्तीमा
उज्यालोको कल्पना गर्नु
बेकार हो
भुतको बस्ती छ रे यहाँ
निशाचरलाई
कालो,अध्यारो रात मन पर्छ
त्यसैले कालो भएको हो ।

अँध्यारोको छुट्टै आनन्द हुन्छ
अँध्यारो रात पछि
उज्यालो अवश्य आउछ ।

सधै अँध्यारो नै अँध्यारो हुने भए
हाम्रा आँखा त्यसै
अनुकुल हुन्थे
अँध्यारो मन पराउँथे
अँध्यारो मै हाँस्थे
त्यसैमा बाँच्थे
अँध्यारो सामराज्यको
अन्धो शासक भए पनि पुग्थ्यो
सद्य आँखाको काम हुँदैन
अध्यारोमा ।

अँध्यारो देशका दिव्यदृष्टि प्राप्त
शासक हुन्थे
लाटोकोसेरो जस्तै नागरिक हुन्थे
चतुर कागहरू पनि
अँध्यारोमा देख्दैनथे
धेरैलाई आनन्द हुन्थ्यो
अँध्यारोमा ।

कैलासकुमार पाण्डेय
परशुराम ५ डडेल्धुरा

 

 

 

Comment