घर त मेरो पनि छ घाम छेक्दैन पानी छेक्दैन के गरूँ।
तिम्रा आँखाहरू कहिल्यै हाम्रो दु:ख देख्दैन के गरूँ।
रहरहरू हाम्रा पनि हुँदा हुन् मीठो खाने राम्रो लाउने,
यो करकै भारीले करङ भाँचियो अब थेग्दैन के गरूँ।
राजनीति र दलाली उस्तै-उस्तै भएछ आदर्श बिहिन,
कलम चलाउनेहरू पनि हाम्रा कथा लेख्दैन के गरूँ।
हेर्नुस् भोट माग्न जानेहरू हेलिकप्टर चढेर जान्छन्,
भोट दिनेले त श्वास फेर्न अक्सिजन भेट्दैन के गरूँ।
रोगले पनि राम्रैराम्रा मान्छे किन रोज्दै हिड्छ होला,
भ्रष्ट दलाल घुस-खोर अपराधी त लखेट्दैन के गरूँ।
भोट दिएर मात्रै आफ्नो हुँदैन रहेछ देशको सरकार,
हाम्रो भन्न त मन छ तर हामीलाई समेट्दैन के गरूँ।
२०७८/०२/०१ महेन्द्रनगर
Comment