निर्मला

निर्मला

 निर्मला

 

निर्मला,

घरीघरी तिम्रा कुरा उठछन
न्यायको राग फलाक्छन
उनीहरूमा एउटा चिन्ता छ
तिम्रो आत्मा यतै छ
नामै उच्चारण छोडे
प्रेतात्मा सताउछ।

कहि कतै यतै भए
आस छोड मुक्ति देउँ त्यो देहलाई।

तिम्रा लागि सडकमा गुन्जिएका नारा
ब्यर्थ भए
प्राणको आहुती गरे गोलि थापे
बन्द,हडताल,जुलुस,नाराबाजी,घेराउ
कति भए कति
ब्यर्थ ठहरिए।

रक्षक नै भक्षक भए
कसको के लाग्छ
मेरो कानुनको शासनले
दोसीलाई कानुनको दायरामा
ल्याउन सकेन
स्वतन्त्र न्यायालयले स्वतन्त्रताको
अनुभुती दिन सकेन
मेरो लोकतन्त्र,गणतन्त्रले
नागरिकको जीउ,धनको
रक्षा गर्न सकेन।

मेरो देशका बिधायकहरु हो
केही नेपाल ऐन संशोधन बिधेयक ल्याउ
यो देशको कानुन
निर्मला पन्त बाहेकमा लागु हुन्छ भन्ने
दफा थप गर।

इमानदारी पुर्वक राज्य लागेको भए
प्रमाण नष्ट गर्नमा होइन 
संकलन गर्नमा पुलिस लागेको भए
न्याय दिनु पर्छ भन्ने 
उच्च पदस्थमा भावना भए
हत्यारा त्यतै थियो
सबै क्रियाकलापलाई 
अठ्ठाहास हासोमा उडाउदै थियो
निर्मला फ़ेरि बलात्कार सहित तेरो हत्या गर्छु
चुनौती दिदै भन्छ
सुकैया आसपास पुगेर
खुलेआम चेतावनी दिन्छ
कोही बोल्यो भने?

हत्यारालाई भय त होला
ग्लानी पनि होला
पश्चाताप पनि होला
जो संग राज्य छ
जसले कानुन आफ्नो हातमा लिन सक्छ
निर्धा,निमुखालाई यस्तै गर्छन।

न्याय हराएकै हो त?

तिम्रो श्राप लाग्नेछ
निर्दोष,नाबालकको हत्या गर्ने
उभो त के लाग्लान?

तिम्रो प्रसंग उठाएर
फ़ेरि जिस्याउदै छन
नारी अस्मिताको मजाक उडाउदैछ
तिम्रो मात्र बलात्कार भएन
राज्यको कानुनको
बलात्कार भएको छ
तिम्रो मात्र हत्य भएको छैन
नेपाली अस्मिताको हत्या भएको छ।

अधिकारको कथा वाचन गर्नेहरु
न्याय,मानव अधिकारको 
ब्यानर सजाउनेहरु
हत्यारा संग डराउछन सायद।

जनताले राज्य संग 
आहार,सहारा,सुरक्षा र बिश्वासको
अपेक्षा गरेको हुन्छ 
सहारा,सुरक्षा त दिन सकेन
बिश्वास पनि गुमाएको छ।

गम्भीर भएर  सोचौ त
यो भन्दा जघन्य केही हुन सक्छ?

नाटक र नौटंकी त धेरै भए
जो ले गर्‍यो,जे जे गर्‍यो
अपराधी बचाउन सफल भयो।

तिम्रो नियती जस्तै 
अस्मिता, भागरथी पनि भोग्दैछन
सबै हत्यारा बलिया भए
राज्य भन्दा पनि।

निर्मला,
अहिल्यै,यहि समय 
न्याय पाउछ्यौ पाउदिनौ
अर्को जुनी निश्चय न्याय पाउनेछौ।

कैलासकुमार पाण्डेय
डडेल्धुरा

 

Comment

September 6, 2024 10:54

अति राम्रो सिर्जना दाजु

September 6, 2024 10:55

नेपालको कानुन दैवले जानुन काका

September 8, 2024 10:00

🥹🥹हार्दिक श्रद्धासुमन