थपलाका संस्कृति रीत परम्परा

थपलाका संस्कृति रीत परम्परा

थपलाका संस्कृति रीत परम्परा 

लिसालौडी
तिहारमा खेलिने एक महत्वपूर्ण खेल हो लिसा लौडी । एउटा काठको बल्लीको दुवै पट्टी समातेर उठाउने एकापट्टी दलित अर्को पट्टि मलित लागेर आफु तिर तान्ने गर्छन् । यो लिसा लौडी तेरी हो कि मेरी हो भन्दै तानातान गर्छन् । बल्लीको बिचमा कैलपालका धामी देउता प्रकट गरि बस्छन।एक पक्षले तानेर गराको ओल्लो छेउ पु¥याउने र फर्काएर पल्लो छेउ पु¥याउने । यसरी तीन पटक यता उति गरि पुन बिचमा बिसर्जन गरिन्छ ।
गीर
लिसालौडी खेलिएसँगै तिहारमा खेलिने अर्को खेल गीर । लिसालौडी खेलीसके पछि त्यही समूह दुई भागमै रहेर छालाबाट बनेको वललाई खुट्टाले हिर्काएर खेल्ने गर्छन । हातले नछुने खुट्टाले आफ्नो मैदानबाट फर्काउने ।
पुतली सेलाउने
गंङ्गा दसराका दिन गाउँ भरीका कन्याहरु प्रतेक घरमा कपडाका पुतली (खेलौना) बनाउछन् । मानिसको आकृतिका बनाएका पुतलीको बिबाह गरि दिने चलन थियो । गृह प्रवेश गराउने गर्दछन् । साना आकारका पुरी पकाएर दिइन्छ । एक अर्कामा बडने गरिन्छ । पुतलीलाई पुतलीघरमा विसर्जन गरिन्छ । जसलाई पुतली सेलाउनु भनिन्छ ।
पुजा पाठहरु
हरेक घरमा कुलदेवता तथा पञ्चायन देवता स्मरण गरि दियो जगाउने गरिन्छ । त्यसै गरि स्तोत्र पाठ गर्ने गरिन्छ । घरमा देवालयमा विधि पुर्वक दिप जलाइन्छ । त्यसै गरि विभिन्न पाठ गर्ने गरिन्छ । रुद्री, चण्डी, सहस्रनाम, चालिसा, शान्तिकाध्याय, गीता आदिसँगै स्तोत्र पाठ गर्ने गरिन्छ ।
बाईस ओखल
थपलागाउँको बिच भागमा एकै ढुङ्गामा बाईस ओखल रहेका छन् । प्राचीन समयमा जडान क्षेत्र हुदा जाँटहरु मध्ये पणवारको राज्य रहेका समयमा जाँट पणवारले ओखल निर्माण गरिएका थिए । हरेक थरिलाई छुट्टाछुट्टै ओखल थिए रे यसबाट यहाँ बाईस थरी जाटहरु बसेका थिए मान्यता छ । हरेक गाउँमा हरेक मन्दिरमा जाटहरुको चिनोको रुपमा केहिन केही जडन्ती निसान छन् । त्यस्तै जडन्ती निसान हो एकै ढुङ्गाका बाईस ओखल पनि ।


जोला नाउला
थपलाको बस्तीका लागि खानेपानीका लागि गाउँ को नजिकै दुई बटा नाउला रहेका छन । अति पवित्र जल भन्ने गरिन्छ ।
देव पुजा संस्कृति रीत परम्परा
थपला मुल रूपमा खिटकेश्वर शिवालयको आल भित्र पर्दछ । खिटकेश्वरको दिब्य थान दुनिलामा रहेको छ । थपलामा अवस्थिती कैलपाल दानौ प्रकट भएका पाण्डेय खिटकेश्वरका पुजारी हुन्छन् । भण्डार र ब्यवस्थापनको जिम्मेवारी खेतीगाउँका भट्टहरुको रहेको छ । 
दुनिलासँगै दुनालेकमा पनि त्यही ब्यवस्थापन हो । दुनालेकको थानलाई शिरोभाग भन्ने गरिएको छ । कार्तिक शुक्ल चौथीमा खिट्केश्वरमा पुजा लगाए पछि पञ्चमीमा कैलपाल थानमा पुजा लगाइन्छ । कैलपाल प्रकट भएका ब्यक्ति नै पुजारी हुने गर्छन । 
त्यसै गरि ब्रम्हपिजासनीको पुजा गरिन्छ । नौलोदेवताको पनि देवता प्रकट भएका ब्यक्ति नै पुजारी हुने परम्परा रहेको छ । सिद्ध ,ग्वासी समैजी, बैजनाथ पुजनको जिम्मेवारी च्यौक्याल पाण्डेयको हो । खलतलमा अवस्थित लाटाछडी,थपला तल्लागाउमा अवस्थित कालसैनमा वन पाण्डेयहरु पुजा लगाउदछन् ।
थपला, खलतलबाट भागेश्वरधुरा देउरो लैजाने प्रचलन छ । कैलपाललाई भागेश्वरको मुलुकियाको रुपमा लिइन्छ । त्यसै गरि लाटाको भुमिका पनि अति नै महत्वपुर्ण रहि आएको छ । प्रत्येक तेस्रो बर्षमा देउरो लगिन्छ । हरेक दनौको थान भागेश्वरको शिवलिङ्ग पनि राखिएको हुन्छ । सबै दानौलाई भागेश्वर संग जोडिएको हुन्छ । भागेश्वर मन्दिरमा पुज पोखल लैजान पोखल्या गडोमा धान फलाएर पोखल लैजाने गरिन्छ ।


देउरो
परशुराम तीर्थमा लाग्ने मेलामा सोल शिवालयबाट ल्याइए जस्तै थपलाबाट पनि खिटकेश्वरको देउरो परशुराम तीर्थमा लैजाने गरिन्छ।देउरोमा चल मन्दिरका रूपमा गाज र देवताका भण्डारका सामाग्री लैजाने गरिन्छ । तीर्थयात्रीहरु देउराको दर्शन र पुजा गर्दछन् । खेतिगाउँबाट पासाको डोला ल्याए पछि पासा र कैलपालको अगेवानीमा खिट्केश्वरको देउरो परशुराम तीर्थ लैजाने गरिन्छ । हरेक तेस्रो वर्ष कैलपालको देउरो लाटाछडी संग समन्वय गरि भागेश्वर धुरा लैजाने गरिन्छ । प्याउलीढुङ्गामा ग्वान्नीको देउरासँगै जाने गर्दछ । प्याउलीढुङ्गाबाट ग्वान्नीको देउरामा रहेको समैजीको दाइन दमाउ फर्काएर कैलपालको दाइन लैजाने गरिन्छ । 

                                                           -कैलाश कुमार पाण्डेय

                                                             प.न.पा ०३, थपला, डडेलधुरा

 

Comment