हो मेरो जन्म घर त्यही हो

हो मेरो जन्म घर त्यही हो

हो मेरो जन्म घर त्यही हो,

 

हो मेरो जन्म घर

उ त्यो गाउँमा हो

जहाँ अहिले झाडी छ

दुर्गम,बिकट छ

बाटो अनुकण्टार छ

अक्करे भीर काटेर जानु पर्छ

धेरैले आफ्नो भन्न लाज मान्दछन

संकोच मान्छन पाखे भन्लान भनी।

जतिबेला पनि मानसपटलमा

मेरो गाउँ याद आइरहेको हुन्छ

सानो छदा चिप्लेटी खेलेका

भीर पखेरा

धुलो खेलेका गरा

पानी खेल्ने राउटो

सायद तिनीहरु एक्लै छन।

मैले हुर्काएको काफलको बोट

मेरै उमेरलाई पछ्याइ रहेको छ

गाउँको बूढो पिपल सुक्नै लाग्यो

गाउँ रित्तिएको छ

घरहरू खण्डहर छन

तै पनि याद आउँछ।

बिच गाउँमा बाईस ओखल छन

त्यही मैनखामको कचहरी बस्ने

मल्लोखलो छ

हज्जारौं बर्ष देखि पानी दिदै आएको

नाउलो छ।

बुडढुनी सक्रातीका दिन

दमाउढुङ्गामा बुढीपोल्ने गरिन्थ्यो

स्वाडामा लिसालौडी खेलिन्थ्यो

देउघरका खलामा धमारी खेल हुन्थ्यो

प्रत्येक साझ घरघरमा भैलो खेलिन्थ्यो

नयाँ वर्षमा देवताथानमा

न्वागी चढाइन्थ्यो

देवताको पुजा लाग्ने दिन हुलोमा

देवताको पुजा लाग्थ्यो

सबै हराए तर स्मरण ताजै छ।

छोरोलाई भन्न खोज्दा

युट्युव बनाए चल्छ भन्छ

छोरीलाई सुनाउदा

मज्जाको कथा रहेछ

अझै भन भन्छे

संस्कृतिविदलाई सुनाउन खोज्दा

केही प्रमाण पनि छन कि भन्छन

पत्रकारलाई भन्न खोज्दा

फोटो आउने अलि जाने किसिमको

समाचार भए हुन्थ्यो भन्छ

चैत घमारी गाउन खोज्दा

रिमिक्स मात्र चल्छन।

झिङ्वा टमटाले बनाएको

तरवार लगि जोगेनी जाँतमा

भोस्सी खेलेकै हौ

त्यहि तरबार बोकी

बडालको चलो खेलेकै हो

तुले भेरकारीले सिएको कुर्ता लगाई

धुरा र खोलेइ जात गइएकै हो

लाली र सुना संग गलटमा

देउडामा दोहरा लागिएकै हो

देजाँत,दुर्गाजाँत सिराडका भ्वा

समेत गइएकै हो।

मेरो विशिष्ट संस्कृति छ

हरेको दिन दैलो पोतिन्छ

दैलो माथी चते र असौजे दशैमा

देलिवालो लगाइन्छ

हरेक आगनमा तुलसी मठ हुन्छ

गोठ गौ,मजिला मौ,पाण द्यौ

रहने ब्यवस्था हुन्छ।

जिउदा जन्ती,मरे मलामी

अर्म,पर्म,खेडी,झोडी

सहकार्य,समन्वयमा समाज चलेको हुन्छ।

सबै संग साइनो सम्बन्ध थियो नै

कुनै पनि गर्खा संग

सभ्यता,संस्कृतिमा रत्तिभर कमी छैन

सबैको ताल संग गाउन,नाच्न सक्ने

ढपपैतोलमा खेल्न सक्ने

मेरो गौरव हो।

छन छ ऐतिहासिक बैभव छ

अनुपम प्रकृति छ

बिहानै लोभलाग्दो सुर्योदय देखिन्छ

निला महाकालीका घुम्ती

सेताम्य हिमाल

समथर तराई एकै साथ हेर्न मिल्छ

मध्यकालीन राज्य ब्यवस्थाको

उदगम स्थल पनि हो।

तर उजाड छ

एक्लो छ पर्खी बसेको छ

हामीहरूलाई पर्खी आउलान भनी

धेरैलाई आफ्नो भन्न गाह्रो लाग्छ

मेरो जन्म घर,अनि गाउँमा

उ त्यो हो।

 

कैलासकुमार पाण्डेय

परशुराम ३ थपला,डडेल्धुरा

 

Comment