थपलाको इतिहास र चौक्याल पाण्डेय परिवार | कैलाश कुमार पाण्डेय

थपलाको इतिहास र चौक्याल पाण्डेय परिवार | कैलाश कुमार पाण्डेय

कैलाश कुमार पाण्डेय

चौक्याल पाण्डेय परिवारका दुई भाइ चौकीमा (चाखी) बसोबास गर्दथे । सिमल्ट्या पाण्डेयका पुरोहितका रुपमा रहेका चौक्याल पाण्डेयलाई थपलाको औथामा बस्ने ब्यवस्था मिलाए र छोरी कन्यादान दिए । दुबै भाइलाई पुरोहित र शिर्षमा मुलसिद्ध ग्वासी समैजी लगायत देवता पनि पुजा गर्ने जिमा दिइएको थियो । 
देवता पुजनका लागि चौक्याल पाण्डेयसँग अदभूत क्षमता पनि थियो । दैवी शक्तिले वाणी फुर्ने गथ्र्याे । त्यस्तै दानी मसानी, भुत पिशास नियन्त्रण गर्ने क्षमता पनि थियो । मित्रता र क्षमताले मालमधेसका बाह्र थानमा पुजा लागाउने जिम्मा पाइयो । सिमल्ट्या र चौक्याल बिच द्वन्द्व शुरु भयो । बिबाद कै बिचमा हरडकट्यामा रतुवा बाघले मारेको भेटियो । 
गाउँमा महत्वपुर्ण चिज भेटिए त्यसको मुख्य भाग सिमल्ट्यालाई दिनु पर्ने चलन थियो । तर रतुवा चौक्याल पाण्डेयका भाइ मिलि भाग लगाए । त्यस बिषयमा निकै चर्चा परिचर्चा भयो । छलफल गरियो, पञ्च भालादमी राखी भोलि मैनखाममा बाधी पञ्जनी गर्ने निर्णय गरियो । जंगलमा भेटीएको बाघले मारेको जनावर ल्याउदा दण्डित हुनु परेकोमा मनमा निकै आक्रोश थियो । आक्रोश पोख्ने कुनै उपाय पाएन । 
आफ्नो सुतिरहेको छोरो उठाएर लगे मैनखाम बाध्ने निर्णय गर्ने सिमल्ट्या पाण्डेयको दैलोमा झुण्ड्याएर आए । धेरै बेर भयो छोरो रोएन दूध खान खोज्थ्यो । त्यस्तो केही संकेत दिएन र छोरो हेर्न जादा भेटिनन । छोरा कहाँ गयो भनी सोद्धा सिमल्ट्या पाण्डेयको दैलोमा पिङ खेल्दैछ भनी त्यहा घरबाट बहिरिए । पतिको आक्रोशपुर्ण अभिव्यक्तिले बाच्नु धिक्कार हो भनी मसला पिस्ने लोडोले टाउकोमा हिर्काइ आत्म हत्या गरिन । चौक्याल भित्र पुग्दा श्रीमतीले आत्महत्या गरेको देखे । रीस निकै बढेर गयो । आबेगको आगो दनदनी बल्यो आफ्नै घरमा आगो लगाए । जलिरहेको घरमै हाम फाले । अति क्रूर घटना घट्यो । गाउँमा द्वन्द्व बढायो । मडिका भारती, श्रीकोटका साउद, तल्ला नङरका पनेरु, वन पाण्डेयले चौक्यालको पक्ष लिए । पानी बारावार भयो । थपलाको नाउलामा साउदलाई पनि पानी भर्न रोक लगायो । साउद नजिकै राउटो बनाए जसलाई साउनै राउटी भनिन्छ । साउदले आफ्नो जग्गा जमिन, पनेरुलाई र चौक्याल पाण्डेयलाई दान दिएर थपला छोडेर गए । त्यति बेला हुक्का ,पानी, भात,जातको निकै महत्व थियो यसैमा भेदभाव पनि गर्थे ।
कालान्तरमा यो द्वन्द्व रोक्ने कार्य कैलपाल देवताको अगुवाईमा भयो । आत्महत्या भई दिवंगत भएका चौक्यालको परिवारले परिवार भित्र र बाहिर पनि उत्पात मच्चाइयो । सिमल्ट्या र चौक्यालमा पिजास भई देव स्वरुपमा प्रकट हुन लागे । कैलपाल देवताले पञ्जनी गरे । देवमय दिब्यस्वरुप प्राप्त चौक्याल परिवारको स्थान आफ्नै छेउमा दिने, शेष पुजा गराउने, वाइस्या परशुराम तीर्थमा जागर लगाउने, शिवगणका रुपमा देवमय स्वरुप प्रदान गरे, दुवै थरी बिच सदभाव कायम राख्न चौक्याल पाण्डेयकी इष्टदेवी भुवनेश्वरी सिमल्ट्याले इष्टदेवी मान्नु पर्ने, देवमय रुप प्राप्त चौक्याल परिवार पिजास पिजासनी र वालकको पुजा तथा जागर ब्यवस्थापनमा हिस्सेदार सिमल्ट्या र चौक्यालको बराबर हुने प्रवन्ध मिलाइयो ।
ब्रह्म, पिजासनी
थपला पनेरुका ठुलो बथान भैंसी खैरमुडामा चराई रहेको थिए । जड्याखाल र परिगाउँमा रैस्वालको धेरै ठूलो बस्ती थियो । दुवै गाउँका रैस्वाल मिलेर एक्काईस ओटा पनेरुका भैंसी लगेर गए । पनेरूले निकै अनुनय बिनय गरे तर कुनै सीप लागेन् । पनेरु घर फर्किए त्यति बेला सानी छोरी सुति रहेकि र श्रीमती गैरागडामा देख्यो । सुतेकी छोरी उठाएर लगे र दूध खुवाउन भने । दूध खाइसके पछि सानी छोरी बोकेर रैस्वाल बस्तीमा गए ।

यो सानी नानिका लागि दूध दिनलाई भनेर त भैंसी दिनोस भने माग्न लागे, केही गरि दिएनन् । सँगै लगेकी वालिकालाई रेणुकाको थान नजिकै एउटा धारिलो बाँसमा राखेर भाकल गरे हे देवी कंशको बिनास गरे जस्तै यी रैस्वालको वंश बिनास गर्नु मेरा शाखा सन्तानले देवी स्वरुपमा पुजनीय बनाउने छन् । त्यही घटनाले एक एक गरि दुई बटा ठुला गाउँका तीन सय परिवार नासिए बस्ती उजाड भयो । थपलामा एउटा ब्रह्मचारी बस्थे । प्राय सबै घरमा पुग्थे । सबैसँग निकै निकट सम्बन्ध थियो । पनेरु कि बालिकालाई ब्रह्मचारी बैना भनेर बोलाउथे । अकस्मात बैनाको हत्याको खबर सुन्ने बितिक्कै ब्रह्मचारीले पनि देह त्यागे ।

ब्रह्मचारीले देह त्याग गरेको ठाउँलाई ब्रह्मचाड भन्ने गरिन्छ । रैस्वाललाई निकै संकट प¥यो । त्यसै गरि पनेरु परिवारलाई कन्या हत्याको श्राप प¥यो । अन्ततः कुल देवता कैलपालको अगुवाईमा त्यो समस्याको पनि समाधान खोजियो । ब्रह्म र पिजासनी दुबै एकै स्थानमा पुजनीय भए देवमय स्वरुप पाई शिवगणका रुपमा रहे   । ग्राम्य देवताका रुपमा पुजनीय भए । सामान्यतया पिजासनी महिलामा प्रकट हुने परम्परालाई भत्काएर महिलाको स्थानमा पुरुषमा प्रकट गराइयो ।
अन्य देवीदेवताका थान
थपलामा वैदिक सनातनीहरुको बसोवास भए पछि प्रकृतिका पुजक थिए । गाउँको चारै तिर देवताका थान छन् । हरडकट्यामा पिजासको थान छ । खैरमुडामा कलपठ्याको थान छ । कलपठ्याका लागि कालो बोका मुकुनु पर्ने हुन्थ्यो । बिच गाउँमा खोदाइको थान छ । थपलामै मालिकाको थान रहेको छ । ग्वालाहरुबाट स्थापित ग्वालादेउको थान रहेको छ । बटुवाले बोलाउने झालिमाली र विभिन्न देउ ज्वार्ने स्थान रहेका छन् । त्यसैमा चौक्याल पाण्डेयको डोकामा शिला भएकाले स्थानीय माग अनुसार शिला स्थापित गरि पुजनीय बनाइएका छन् । थपलाकै सास्कृतिक ब्यबस्थापनमा पुरै मधेस क्षेत्र रहेको थियो । बस्तु भाउसँगै मधेस झर्दा तथा गोठ राखी खर्क बस्दाका बेला स्थापित देवशिला हाल पुजनीय बनेका छन् ।
थपलाका संस्कृति रीत परम्परा
लिसालौडी
तिहारमा खेलिने एक महत्वपूर्ण खेल हो लिसा लौडी । एउटा काठको बल्लीको दुवै पट्टी समातेर उठाउने एकापट्टी दलित अर्को पट्टि मलित लागेर आफु तिर तान्ने गर्छन् । यो लिसा लौडी तेरी हो कि मेरी हो भन्दै तानातान गर्छन् । बल्लीको बिचमा कैलपालका धामी देउता प्रकट गरि बस्छन।एक पक्षले तानेर गराको ओल्लो छेउ पु¥याउने र फर्काएर पल्लो छेउ पु¥याउने । यसरी तीन पटक यता उति गरि पुन बिचमा बिसर्जन गरिन्छ ।
गीर
लिसालौडी खेलिएसँगै तिहारमा खेलिने अर्को खेल गीर । लिसालौडी खेलीसके पछि त्यही समूह दुई भागमै रहेर छालाबाट बनेको वललाई खुट्टाले हिर्काएर खेल्ने गर्छन । हातले नछुने खुट्टाले आफ्नो मैदानबाट फर्काउने ।
पुतली सेलाउने
गंङ्गा दसराका दिन गाउँ भरीका कन्याहरु प्रतेक घरमा कपडाका पुतली (खेलौना) बनाउछन् । मानिसको आकृतिका बनाएका पुतलीको बिबाह गरि दिने चलन थियो । गृह प्रवेश गराउने गर्दछन् । साना आकारका पुरी पकाएर दिइन्छ । एक अर्कामा बडने गरिन्छ । पुतलीलाई पुतलीघरमा विसर्जन गरिन्छ । जसलाई पुतली सेलाउनु भनिन्छ ।
पुजा पाठहरु
हरेक घरमा कुलदेवता तथा पञ्चायन देवता स्मरण गरि दियो जगाउने गरिन्छ । त्यसै गरि स्तोत्र पाठ गर्ने गरिन्छ । घरमा देवालयमा विधि पुर्वक दिप जलाइन्छ । त्यसै गरि विभिन्न पाठ गर्ने गरिन्छ । रुद्री, चण्डी, सहस्रनाम, चालिसा, शान्तिकाध्याय, गीता आदिसँगै स्तोत्र पाठ गर्ने गरिन्छ ।
बाईस ओखल
थपलागाउँको बिच भागमा एकै ढुङ्गामा बाईस ओखल रहेका छन् । प्राचीन समयमा जडान क्षेत्र हुदा जाँटहरु मध्ये पणवारको राज्य रहेका समयमा जाँट पणवारले ओखल निर्माण गरिएका थिए । हरेक थरिलाई छुट्टाछुट्टै ओखल थिए रे यसबाट यहाँ बाईस थरी जाटहरु बसेका थिए मान्यता छ । हरेक गाउँमा हरेक मन्दिरमा जाटहरुको चिनोको रुपमा केहिन केही जडन्ती निसान छन् । त्यस्तै जडन्ती निसान हो एकै ढुङ्गाका बाईस ओखल पनि ।
जोला नाउला
थपलाको बस्तीका लागि खानेपानीका लागि गाउँ को नजिकै दुई बटा नाउला रहेका छन । अति पवित्र जल भन्ने गरिन्छ ।
देव पुजा संस्कृति रीत परम्परा
थपला मुल रूपमा खिटकेश्वर शिवालयको आल भित्र पर्दछ । खिटकेश्वरको दिब्य थान दुनिलामा रहेको छ । थपलामा अवस्थिती कैलपाल दानौ प्रकट भएका पाण्डेय खिटकेश्वरका पुजारी हुन्छन् । भण्डार र ब्यवस्थापनको जिम्मेवारी खेतीगाउँका भट्टहरुको रहेको छ । 
दुनिलासँगै दुनालेकमा पनि त्यही ब्यवस्थापन हो । दुनालेकको थानलाई शिरोभाग भन्ने गरिएको छ । कार्तिक शुक्ल चौथीमा खिट्केश्वरमा पुजा लगाए पछि पञ्चमीमा कैलपाल थानमा पुजा लगाइन्छ । कैलपाल प्रकट भएका ब्यक्ति नै पुजारी हुने गर्छन । 
त्यसै गरि ब्रम्हपिजासनीको पुजा गरिन्छ । नौलोदेवताको पनि देवता प्रकट भएका ब्यक्ति नै पुजारी हुने परम्परा रहेको छ । सिद्ध ,ग्वासी समैजी, बैजनाथ पुजनको जिम्मेवारी च्यौक्याल पाण्डेयको हो । खलतलमा अवस्थित लाटाछडी,थपला तल्लागाउमा अवस्थित कालसैनमा वन पाण्डेयहरु पुजा लगाउदछन् ।
थपला, खलतलबाट भागेश्वरधुरा देउरो लैजाने प्रचलन छ । कैलपाललाई भागेश्वरको मुलुकियाको रुपमा लिइन्छ । त्यसै गरि लाटाको भुमिका पनि अति नै महत्वपुर्ण रहि आएको छ । प्रत्येक तेस्रो बर्षमा देउरो लगिन्छ । हरेक दनौको थान भागेश्वरको शिवलिङ्ग पनि राखिएको हुन्छ । सबै दानौलाई भागेश्वर संग जोडिएको हुन्छ । भागेश्वर मन्दिरमा पुज पोखल लैजान पोखल्या गडोमा धान फलाएर पोखल लैजाने गरिन्छ ।
देउरो
परशुराम तीर्थमा लाग्ने मेलामा सोल शिवालयबाट ल्याइए जस्तै थपलाबाट पनि खिटकेश्वरको देउरो परशुराम तीर्थमा लैजाने गरिन्छ।देउरोमा चल मन्दिरका रूपमा गाज र देवताका भण्डारका सामाग्री लैजाने गरिन्छ । तीर्थयात्रीहरु देउराको दर्शन र पुजा गर्दछन् । खेतिगाउँबाट पासाको डोला ल्याए पछि पासा र कैलपालको अगेवानीमा खिट्केश्वरको देउरो परशुराम तीर्थ लैजाने गरिन्छ । हरेक तेस्रो वर्ष कैलपालको देउरो लाटाछडी संग समन्वय गरि भागेश्वर धुरा लैजाने गरिन्छ । प्याउलीढुङ्गामा ग्वान्नीको देउरासँगै जाने गर्दछ । प्याउलीढुङ्गाबाट ग्वान्नीको देउरामा रहेको समैजीको दाइन दमाउ फर्काएर कैलपालको दाइन लैजाने गरिन्छ । 

Comments (8)

Great Uncle

October 30, 2023 pm31 4:17 PM

It's so knowledge based social science based article's.

October 31, 2023 am31 1:48 AM

Hamro Thapala

October 31, 2023 am31 2:42 AM

Great Uncle. Hamro Thalo, sanskriti ko jagerna garnu vayeko ma

October 31, 2023 am31 2:43 AM

Chaukyal Pandey

हाम्रो भुमी र परिवारको विस्तारित इतिहास भाग १

Chaukyal Pandey

October 31, 2023 am31 2:46 AM

धन्यवाद कैलाश बाबु लामो परिश्रम र अनुसन्धान बाट तयार पारिएको लेख मैले परम्परागत सम्पत्ति को रूपमा संरक्षित गर्न आबस्यक ठानि मेरो सम्पत्ति रुपमा save गरे । यस्ता खोजमूलक कृति हरुमा निरन्तर कलम चलाउने प्रयास भैरहोस् मेरो हार्दिक शुभ-कामना छ ।

October 31, 2023 pm31 1:25 PM

Great

November 2, 2023 pm30 1:38 PM

Bhaktaraz Bhatta

Great article to read!

Bhaktaraz Bhatta

July 16, 2024 pm31 1:43 PM

Leave a Reply

Please login to leave a comment.
Top